नियम १८
मनोनयनपत्रको जाँच गर्ने
(१) निर्वाचन अधिकृतले नियम १५ बमोजिम दर्ता भएका  मनोनयनपत्रको जाँच गर्दा कुनै उम्मेदवारको विरोधमा अध्यादेशको दफा १९ बमोजिम दाबी विरोधको उजूरी परेको रहेछ भने सो सम्बन्धमा समेत आवश्यक जाँचबुझ गरी निर्णय गर्नु  पर्नेछ । (२) मनोनयनपत्र जाँच गर्दा कुनै प्रदेशमा एकै व्यक्तिको अध्यादेशको दफा ३ बमोजिमको एकै समूहको लागि दुईवटा मनोनयनपत्र दर्ता भएकोेमा दुईवटै मनोनयनपत्र रीतपूर्वकका रहेछन् भने निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकको इच्छा अनुसार कुनै एउटा मनोनयनपत्र कायम गर्नु पर्नेछ । तर त्यस्तो उम्मेदवार, निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित नभएको अवस्थामा निर्वाचन अधिकृतले कुनै एक मनोनयनपत्र कायम गर्न सक्नेछ । (३) मनोनयनपत्रको जाँच गर्दा मनोनयनपत्रमा रहेको सानोतिनो भूलचुकको कारणले मात्र मनोनयनपत्र बदर हुने छैन । स्पष्टीकरण : यस उपनियम र नियम ३१ को उपनियम (२) को प्रयोजनको लागि “सानोतिनो भूलचुक” भन्नाले मतदाता नामावलीमा वा मनोनयनपत्रमा उम्मेदवार, प्रस्तावक वा निजहरूसँग सम्बन्धित व्यक्तिको नाम, थर, उमेर, वतन वा क्रमसङ्ख्याको लेखाई वा छपाई सम्बन्धी प्राविधिक वा अक्षर, मात्रा वा अङ्कको सामान्य त्रुटि सम्झनु पर्छ ।